हुम्ला । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड उपाशाखा हुम्लाले पहिलो पटक यहाँका तीन जना पशुपालक किसानलाई दाबी भुक्तानी गरेको छ । लिमिटेड उपशाखा हुम्लाले बिहिबार सिमकोट गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष गोर्ख लामा र वडा नम्बर ३ का वडाध्यक्ष पामा लामाबाट मृतक गाइगोरु पशुपालक तीन जना किसानलाई चेक हस्तान्तरण गरिएको हो ।
यूनाइटेड अजोड इन्स्योरेन्सले सिमकोट गाउँपालिका–१ का जंगबहादुर लामालाई ३६ हजार र गुर्मु यन्छोक लामालाई ५४ हजारको उक्त रकम वरावरको चेक हस्तान्तरण गरिएको सोही इन्स्योरेन्स उपशाखा हुम्लाका प्रमुख विनिता बुढाले बताउनुभयो । वडा नम्बर ३ बरगाउँका धाडोल लामालाई ४ हजार ५ सय वरावरको रकम भुक्तानी चेक हस्तान्तरण गरिएको उपशाखा हुम्लाका प्रमुख बुढाले जानकारी दिनुभयो ।
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड उपशाखा हुम्लामा हालसम्म ९४ जना किसानका ६ सय गाइगोरुको बीमा गरिएको प्रमुख बुढाको भनाई छ । सोही मध्येका तीन जनाले पशुवस्तुको मृत्यु भएको भनी दिएको निवेदनका आधारमा १४ दिन भित्रै दाबी भुक्तानी इन्स्योरेन्सले चेक हस्तान्तरण गरेको हो । पशुपालक किसानले सहजै भुक्तानी पाउँदा खुसी व्यक्त समेत गरेका थिए ।