हुम्ला । जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य भएका छन् । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको जिल्लाका गाउँ बस्तिका अधिकांश महिलाहरू बिच बाटोमै बच्चा जन्माउन बाध्य भएका हुन् । समयमै सडक सञ्जाल नजोडिदिँदा हुम्लाका महिलाहरूले अकालमै ज्यान गुमाउनु पर्ने भए पनि नेपाल सरकारले अहिलेसम्म त्यस्को व्यवास्ता गर्दै आएको स्थानीयले गुनासो गरेका छन् ।
गाउँदेखि सदरमुकामसम्म नपुगाउँदै बाटोमै ज्यान जोखिम राखेर सुत्केरी हुनु पर्ने बाध्यता छ । जिल्लाका अधिकांस दुर्गम गाउँबस्तीहरुमा स्तरीय स्वास्थ्य सेवा प्रवाह नहुनु र दुर्गम गाउँका महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नभएका कारण ग्रामिण क्षेत्रका सुत्केरीहरू बाटोमै बच्चा जन्माउन बाध्य छन् ।
सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी २७ वर्षिय भन भण्डारीले माघ ६ गते जोखिम मोलेर बाटोमै बच्चा जन्माउनु भएको छ । सोही दिन विहान सुत्केरी व्यथा लागेपछि गाउँमा रहेको ठेहे स्वास्थ्यचौकीमा पुगेकी भण्डारीलाई सुत्केरी गराउन सक्ने अवस्था नभएपछि उक्त स्वास्थ्यचौकीले सोही दिन जिल्ला अस्पतालमा रिफर गरेको थियो । स्वास्थ्यचौकीले रिफर गरेपछि भण्डारीलाई सदरमुकाम सिमकोट लैजादै गर्दा बाटोमै सुत्केरी भएको पती नन्द भण्डारीले बताउनु भयो ।
ठेहे स्वास्थ्य चौकीले उहाँको रगत नियमित बगिरहेको र प्रेसर पनि कम छ भन्दै नसक्ने र स्वास्थ्य संस्थामा थप उपकरण समेत नभएका कारण जिल्ला अस्पतालमा लैजान भनेर रिफर गरेको थियो । ठेहे गाउँबाट सदरमुकाममा रहेको जिल्ला अस्पतालमा पैदलबाट तीन घण्टा लाग्ने गर्छ । गाडीबाट एक घण्टा लाग्ने भएपनि केही दिनअघिको हिमपातले सिमकोट गाउँपालिका–३ को मन्की खोलामा बरफ जमेका कारण गाडी जान नसक्ने भएपछि स्टेचरमा बोकेर ल्याइएको थियो ।
छिटो उपचारका लागि स्वास्थ्य सेवा कार्यालयको एम्बुलेन्स समेत सिमकोट गाउँपालिका–४ को हेल्दुम खोलासम्म माग गरिएको थियो । तर भण्डारीले बाटोमै बच्चा जन्माउनुभएको हो । गाउँबाट स्टेचरमा बोकेर साढे एक घण्टा हिडेपछि सिमकोट गाउँपालिका–३ बरगाउँको चुकेडी भन्ने स्थानमा बाटोमै भण्डारीले छोरीलाई जन्म दिएको आफन्त कृष्ण बोहरा (तुला)ले बताउनु भयो ।
बोहराले भन्नुभयो, अप्ठेरो बाटोमा साधरण मानिस हिड्न पनि समस्या हुन्छ, त्यहीँ समस्याका बाबजुत पनि स्टेचरमा बोकेर जिल्ला अस्पतालमा लैजादै गर्दा बाटोमै बच्चा जन्माउनुभयो । सदरमुकामको जिल्ला अस्पतालमा पुग्न अझै साढे एक घण्टा बाँकी थियो । गाउँबाट चुकेडी बिच बाटो पुग्न साढे एक घण्टा लागेको थियो । स्टेचरमा बोकेर ल्याउनुपर्दा स्थानीयले सास्ती खेप्नु परेको छ ।
गाउँमा स्वास्थ्य चौकीका साथै प्रसुती सेवा पनि छ । गाउँमा भनेको समयमा उपलब्ध सेवा पाइन्छ, न त भनेको बेला औषधि हुन्छ, न त राम्रा उपकरण नै छन् । सदरमुकाम आसपासककै नागरीकले यस्तो समस्या भोग्नु परेको छ बोहराले गुनासो पोख्नुभयो । अझै हिमाली जिल्ला हुम्लाका महिलाले सुत्केरी व्यथा लागेको समयमा स्तरीय सेवा नपाएको बताउने गरेका छन् ।
यो समस्या भण्डारीको मात्रै नभएर हुम्लाका अधिकांश दक्षिण भेगका यस्तै व्यथा लागेका आमाहरूको प्रजनन् स्वास्थ्य निकै दयनीय अवस्थामा रहेको छ । गाउँघरमा कडा परिश्रम, प्राय जसले कम उमेरमा विवाह गरेर बच्चा जन्माउनु, स्वास्थ्य सेवा पहुँचबाट वञ्चित, पौष्टिक आहारको कमीलगायत कारणले सुत्केरीको ज्यान जोखिम पर्ने गरेको छ ।
नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने छ कसैलाई पनि आकष्मिक स्वास्थ्य सेवाबाट वञ्चित गराइने छैन र सबै नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको व्यवस्था गरिएको भएपनि ग्रामीणका क्षेत्र महिलाहरू स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटो मै बच्चा जन्माउन बाध्य छन् ।