हुम्ला । अत्याधिक चिसो बढेपछि नाम्खा गाउँपालिका–६ स्थित भृकुटी आधारभूत विद्यालय जाङ गाउँको विद्यालय बन्द भएको छ । गत एक वर्षदेखि सो विद्यालयमा विद्यार्थी नै नभएपछि विद्यालय बन्द अवस्थामा रहेको नाम्खा गाउँपालिका स्थानीय सुन्डुप लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार भौगालिक हिसावले निकै विकटता र कठिनाई रहेको यस विद्यालयमा शिक्षक र विद्यार्थीलाई निकै कठिनाई हुने भएपछि विद्यार्थीका अभिभावकले आफ्ना बालबालिकालाई सहर केन्द्रित गर्दै आएका छन् ।
सहजै रुपमा विद्यालयमा पठनपाठनदेखि लिएर अन्य विभिन्न सेवाहरू उपलव्ध हुन नसकेपछि उक्त विद्यालयका विद्यार्थी हाल जिल्ला बाहिरका सुविधासम्पन्न विद्यालयमा पठनपाठन गर्न बाध्य भएका हुन् । जसका कारण एक वर्षदेखि उक्त विद्यालय बन्द रहेको गाउँपालिका शिक्षा शाखा प्रमुख मनराज बुढाले बताउनुभयो ।
जाङ गाउँका स्थानीय वडाको आधिकारिक सिफारिस नलिएरै जिल्ला बाहिर बस्ने र सोही गाउँपालिकाबाटै सेवा सुविधा उपलव्ध गरि रहने प्रविधि संगै उनिहरूले आफ्ना बालबालिकाको भविश्यलाई मध्य नजर गर्दै राम्रो शिक्षाको आशामा उक्त विद्यालय बन्द अवस्थामा रहेको प्रमुख बुढाको भनाई छ ।
उहाँका अनुसार हाल सो गाउँमा दुई घरका दुईजना बालबालिका मात्रै रहेकाले उनिहरूलाई सोही वडाको सुनखानी आधारभूत विद्यालय हल्जीमा मर्च गरिएको प्रमुख बुढाको भनाई छ । उहाँका अनुसार विद्यार्थी गाउँमा नभएपछि बन्द रहेको विद्यालयका शिक्षक राजबहादुर ऐडीलाई नाम्खा गाउँपालिका–५ स्थित अरानीको आधारभूत विद्यालय यारी र कृष्ण बिठारिलाई सोही गाउँपालिका–४ स्थित माहावौद्ध मावि यालवाङमा खटाइएको छ ।
गाउँपालिका अध्यक्ष प्रेम लामाले बसाइसराईले गाउँ नै रित्तो भन्ने विषयलाई अस्वीकार गर्दै विद्यालय भने विद्यार्थी नै नभएर बन्द अवस्थामा रहेको स्वीकार गर्नु भएको छ ।