हुम्ला । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड हुम्लाले अबदेखि चिनी पनि बिक्री गर्न थालेकाे छ । यस अघि खाद्य बस्तु बिक्री गर्दै आएकाे संस्थाले सदरमुकाम सिमकाेट बजारकाे मुल्य भन्दा २० रुपियाँ सस्तोमा चिनी बिक्री गर्न लागेको हाे ।
लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतबाट पैदल मार्ग हुँदै शाखामा चिनी ढुवानी भएर आई पुगेपछि बिक्री गर्न लागिएको कार्यालय प्रमुख कृष्णप्रसाद अधिकारीले जानकार दिए ।
यसअघि अन्य खाद्य सामाग्री बिक्री गर्दै आएको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाले अब चिनी पनि बिक्री गर्ने भएको छ । शाखाबाट पहिलो पटक सर्वसाधारणका लागि चिनी बिक्री गर्न लागिएको लिमिटेड सिमकोट शाखाका प्रमुख अधिकारीकाे भनाइ छ ।
चिनी ढुवानी अनुदानमा बिक्री गर्न लागिएको हो । प्रतिकेजी १ सय ३५ रुपियाँ पर्ने चिनीलाई पाँच रुपियाँ छुट दिएर प्रतिकेजी १ सय ३० रुपियाँमा बिक्री गर्न लागिएको उनले बताए ।
शनिबार बिहान मात्रै चालीस क्वीन्टल चिनी पैदल मार्गबाट ढुवानी भएर आई पुगेको र आईतबारबाट सर्वसाधारणलाई बिक्री गरिने बताइएको छ । बजारमा चिनीको प्रतिकेजी १ सय ५० रुपियाँ पर्ने गर्छ । लिमिटेडले हुम्लामा चामल, तेल, मैदा लगायतका खाद्य बस्तु बिक्री गर्दै आएको छ ।