हुम्ला । चंखेली गाउँपालिका–५ स्थित नेप्कामा रहेको डाँफे आधारभूत विद्यालयका शिक्षकहरूले गत साउन महिनादेखि तलब सुविधा नपाएको गुनासो गरेका छन् । विद्यालयमा कार्यरत शिक्षकहरू गाउँपालिकाले यस अघि गरेको निर्णय अनुसार चंखेली गाउँपालिका भरिका विद्यालयमा सञ्चालन हुने जुनसुकै परीक्षामा शिक्षकहरू एक अर्का विद्यालयमा खटनपठन भएर परीक्षा सम्पन्न गरिनु पर्ने निर्णय भएको थियो ।
सो निर्णय अनुसार एउटा विद्यालयबाट कम्तीमा पनि पाँच जना शिक्षकहरू अर्को विद्यालयमा गएर परीक्षा सञ्चालन गर्ने र उनीहरू पुनः आफ्नै विद्यलयमा फर्कने प्रावधान ल्याएको थियो । गाउँपालिकाले गरेको निर्णय अनुसार डाँफे आधारभूत विद्यालयले पाँच जना शिक्षकहरू खटाउन नसकेको भन्दै पहिलो चौमासिकको तलब समेत रोक्का गरी दिएको सोही विद्यालयका प्रधानाध्यापक बच्चुलाल चौधरीले बताउनु भयो ।
प्रधानाध्यापक चौधरीका अनुसार असोज ६ गते भएको अर्धवार्षिक परीक्षाको समयमा आफ्नो खुट्टा फ्याक्चर भएकोले अन्य दुई जना शिक्षकहरूलाई अन्य विद्यालयमा खटाएको बताउनु भयो । तर गाउँपालिकाले अर्धवार्षिक परीक्षामा अर्को विद्यालयमा खटिनु पर्ने मौखिक जानकारी गराएको भए पनि लिखित परिपत्र भने नगरेको प्रधानाध्यापक चौधरीको भनाइ छ ।
भौगोलिक हिसावले पनि सो विद्यालयबाट अर्को विद्यालय जानलाई समेत समस्या हुनुका साथै आफ्नो खुट्टा फ्याक्चर भएकाले पनि कठिनाई भएको उहाँले बताउनु भयो । तर पनि गाउँपालिकाले आफ्नो विद्यालयलाई यस्तो सौतेनी व्यवहार गरेको उहाँले गुनासो गर्नुभएको छ ।गाउँपालिकाका अन्य विद्यालयलाई सहजै रुपमा दशैँ पेस्की सहित तलब उपलब्ध गराए पनि डाँफे आधारभूत विद्यालयमा कार्यरत ६ जना शिक्षक, दुई जना शिक्षिका र एक जना कार्यालय सहयोगिलाई दशैँ पेस्की र तलब समेत खान नदिएर बैङ्क खाता बन्द गरिदिएको प्रधानाध्यापक चौधरीको भनाइ छ ।
उहाँका अनुसार दोस्रो चौमासिकको एक महिना बितिसक्दा पनि चंखेली गाउँपालिका–४ स्थित ग्लोबल आइएमई बैङ्कमा रहेको विद्यालयको खाता खुला नगरेको प्रधानाध्यपक चौधरीको आरोप छ । उक्त विद्यालयमा हाल तीन जना दरबन्दी, एक जना राहत, एक जना सङ्घीय, दुई जना करार, एक जना बालविकास र एक जना कार्यालय सहयोगि कार्यरत छन् । यतिबेला उनीहरू शिक्षक शिक्षिकाले विद्यालयका १ सय ४० जना विद्यार्थीलाई पढाउँदै आएका छन् ।
उक्त विषयमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत परम पाण्डेले यो विषयमा आफूलाई पनि त्यति जानकारी नभएको स्वीकार गर्दै शिक्षा क्षेत्रलाई सुधार बनाउने उद्देश्यका साथ जनप्रतिनिधि, कर्मचारीहरू बसेको निर्णयलाई व्यवास्था गरेको भनेर गाउँपालिका अध्यक्षले सोही विषयमा छलफल गर्ने भनेर खाता बन्द गरेको हुन सक्ने प्रतिक्रिया दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत पाण्डेले अबको केही दिनमा अध्यक्ष, कर्मचारी र शिक्षकहरू बसेर छलफलबाट निश्कर्ष निकालेर समस्याको समाधान गर्ने बताउनु भयो ।