हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लामा रहेर उत्कृष्ट काम गर्ने आठ जना प्रहरी पुरस्कृत भएका छन् । असाेज ३० गते नेपाल प्रहरीकाे ६९ औं प्रहरी दिवसको अवसरमा हुम्ला जिल्लामा कार्यरत आठ जना प्रहरी पुरस्कृत भएका हुन् ।
पुरस्कृत गर्ने कर्मचारीलाई छनौट गर्ने कार्य फरक फरक कामका लागि जिल्ला प्रहरी कार्यालयले गरेको छ । पुरस्कृत हुने प्रहरीलाई नगद सहित प्रमाण पत्र र मेडल प्रदान गरिएकाे थियाे ।
जसमा पुरस्कृत हुने प्रहरीहरूमा प्रहरी सहायक निरीक्षक दिपेन्द्र बुढाथोकी, टिकाराम थापा, थमनसिंह घर्तीमगर रहेका छन् भने प्रहरी हवल्दारमा युवराज बस्नेत, प्रहरी सहायक हवल्दारमा रविन बि.क, रघुनाथ मल्ल र प्रहरी जवानमा बिक्रम जिएम र रुपा चौधरी रहेका छन् ।
त्यसैगरी ६९ औं प्रहरी दिवसको अवसरमा जिल्ल प्रहरी कार्यालयले आयोजना गरेको प्रहरीका लागि ब्याटमिन्टन डबल प्रतियोगितामा विजेता खेलाडीहरूलाई पनि ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो ।
सो प्रतियोगितामा प्रथम हुने प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाल र प्रहरी सहायक निरीक्षक मधु जिसीको टिम भएको थियो भने प्रहरी सहायक हवल्दार रघुनाथ मल्ल र प्रहरी जवान जितबहादुर थारुको टिम द्वितीय भएको थियो ।
त्यसैगरि प्रहरी सहायक निरीक्षक सोभा गिरी र प्रहरी बरिष्ठ हवल्दार बिशाल विष्टको टिम तृतीय भएको थियो । विजेता टिमलाई नगद पुरस्कार क्रमश ३ हजार, २ हजार र १ हजार रुपियाँ पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागी बक्ताले प्रहरीलाई सुरक्षा चुनौती रहेको जनाउँदै यो समस्या समाधान गर्न सवै पक्षको आवश्यक रहेको बताएका थिए । साइवर सुरक्षा र बैंकिङ कसुरका समस्या प्रहरीलाई बढी रहेको र त्यसलाई समाधान गर्न प्रहरीलाई समस्या भएको सहभागी बक्ताले उल्लेख गरेका थिए ।
प्रहरी नायब उपरीक्षक खनालले प्रहरी संगठनका बारेमा बताउँदै उपस्थित सबैलाई स्वागत गरेका थिए । प्रहरी महानिरीक्षकले दिवसको अवसरमा पठाएको शुभकामना पत्रसमेत कार्यक्रममा वाचन गरिएको थियो ।
पत्रकार महासंघका अध्यक्ष राजन रावतले दिवसको अवसरमा प्रहरी परिवारलाई शुभकामना दिँदै आफ्नो सेवामा खटिन आग्रह गरेका थिए । दिवस साईबर सुरक्षा आजको आवश्यकता भन्ने मूल नाराका साथ प्रहरीले आफ्नो स्थापना दिवस मनाएकाे हाे