हुम्ला । हुम्लामा लागु औषध दुरुपयाेग नियन्त्रणका लागि तीन महिने अभियानकाे थालनि गरिएकाे छ । नेपाल सरकारको परिपत्र हनुसार जिल्ला प्रशासन कार्यालय हुम्लाको आयोजनामा असोज १५ गतेदेखि पुस १५ गतेसम्म तीन महिनाका लागि लागु औषध नियन्त्रणका लागि अभियान सञ्चालन गरिएकाे हाे ।
हुम्लामा लागु औषध प्रयोगकर्ता त्यति धेरै नभएपनि जिल्ला विस्तारै सडकसँग जोडिनुका साथै हवाई मार्गबाट सिधै जोडिने भएकाले कोही कसैले यसको सेवन गरेको पाइएमा कारबाही हुने र यसको सेवनले मानिसमा पार्ने असरका बारेमा सचेतना फैलाउनका लागि तीन महिना अभियान सञ्चालन हुने भएको जिल्ला प्रशासान कार्यालय हुम्लाको स्रोतले जनाएको छ ।
जिल्लामा लागु औषध सम्बन्धि अपराध न्युनिकरण गर्ने उदेश्यले तीन महिने अभियान सञ्चालन गर्ने तयारीमा रहेको पाइएकाे छ । सातवटै स्थानीय तह र सम्बन्धित सबै निकायका सरोकारवाला निकायाको यो अभियानमा हातेमालो जरुरी रहेको छ ।
हुम्लामा विभिन्न किसिमका ठुला लागु औषध नभित्रीएपनि जिल्लामा पाइने प्राकृतिरुपमा उम्रिएका (गाँजा), धतुरोको (अतर) बनाएर केही युवाले सेवन गरेपनि त्यसको पनि कडाइ हुनु पर्ने सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीकाे भनाइ छ ।
सदरमुकाम सिमकोटका विभिन्न स्थानमा युवा जमात भएर साँझको समयमा गाँजा सेवन गर्ने स्थान प्रहरीले पत्ता लगाएर तीन पटक सम्झाउने यदि नमानेको खण्डमा कानुन बमोजीम कारबाही गर्न अध्यक्ष्य भण्डारीले प्रजिअ समक्ष प्रस्ताव राखेका छन ।
दशैँ तिहार नजिकिएसँगै जिल्ला बाहिर अध्ययन तथा घुमफिरका लागि गएका केही युवाले लागु औषध बोकेर ल्याएको हुन सक्ने भएकाले उनिहरुलाई थप निगरानीका साथै सचेत गराउनु पर्ने विभिन्न वक्ताहरुका भनाई छ । यो विषय साँझा चासोको विषय रहेकोले सबै सरोकारवाला निकाय बिच समन्वय र सहकार्यको आवश्यक रहेको बताइएको छ ।