हुम्ला । जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । असोज ४ गते जिल्ला प्रशासन कार्यालय हुम्लामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।उक्त बैठकले चारवटा निर्णय गरेको छ ।
जसमा यस अघि ताँजाकोट गाउँपालिकामा अविरल वर्षाले जोखिम पारेका बस्तीहरुको बस्ती स्थान्तरण गर्न अनुरोध गरे अनुसार हुम्ला जिल्ला विपद् व्यवस्थापन समितिले गत भदौ २६ गतेको स्थानीय विपद् व्यवस्थापन समितिको निर्णय अनुसार देहाय बमोजिमका विभिन्न वडाहरुको बस्ती स्थान्तरणका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय, सुर्खेतलाई सिफारिस गर्ने जनाएको छ । जस मध्ये वडा नम्वर १ को भैसामाझ, गैरा जिमाना बस्ती, काडागाउँ, २ को दलित बस्ती, ३ को रोकाया वाडा, मेलपानी बस्ती, नैकला वस्ती, बुढातौंजा वस्ती, ४ को ओखडेना बस्ती र ५ को शात्ति गाउँ र चिहिगाउँ लगायतका ११ वटा बस्ती उच्च जोखिममा रहेको पाइएको छ ।
त्यस्तै बैठकमा सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गुल्म हे.क्वा. हुम्लालाई स्थायी जग्गा उपलब्ध गराउनका लागि सिमकोट गाउँपालिका वडा नम्वर ५ मैनेगाडाबाट अन्दाजि ५ सय मिटर दक्षिणतर्फ रहेको बसुन्धरा डाँडा दायाँ, बायाँ करिव ३ सय रोपनी जमिन भावि दिनमा विपद् व्यवस्थापन कार्यका लागि आवश्यक नपर्ने भएकोले सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धि कार्यनीति, २०७९ बमोजिम उपलब्ध गराउन सम्बन्धित निकायमा सिफरिस गर्ने जनाइएको छ ।
सिमकोट गाउँपालिकाको भदौ २५ गतेको को पत्रानुसार सिमकोट गाउँपालिकाको भदौ २४ को गाउँकार्यापालिकाको निर्णयानुसार हाल प्रस्तावित मैनेगाडा बसपार्क क्षेत्र भावि दिनमा विपद् व्यवस्थापन कार्यका लागि आवश्यक नपर्ने भएकोले सो जग्गा सिमकोट गाउँपालिका वडा नम्वर ५ को कार्यालय भवन निर्माण उपयोगका लागि सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धि कार्यनीति, २०७९ बमोजिम वडा नं. ५ को नाममा उपलब्ध गराउन सम्बन्धित निकायमा पहल गरिने भएको छ ।
यस वर्षको मनसुन अवधिमा बाढी पहिरो, बर्षात तथा रोगकिराले क्षति भएको बालीनालीको राहत रकम विगत वर्ष झै उपलब्ध गराउन कृषि विकास कार्यालय हुम्ला मार्फत सम्बन्धित प्रदेश मन्त्रालयमा समेत अनुरोध गर्ने बैठकल निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले जानकारी दिए ।