हुम्ला । कर्णाली करिडोर अन्तरगतको हुम्ला खण्डमा पर्ने चट्टानी छारे भीरको सडक निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाले भीरमा एक वर्षयता विष्फोट कार्य गरेर मेशिनले सडक निर्माण कार्य सुरू गरेपछि भीरको काम अन्तिम चरणमा पुगेको हो । बिगत डेढ महिनादेखि चट्टानी भीरमा विष्फोट कार्यका लागि ड्रेलिङ मेशिनबाट होल खोप्दै आएका धनमानसिंह भण्डारीले जिल्लाको खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाको सिमाना छारे भीर क्षेत्रको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए ।
दुई सय मिटर कडा र अग्लो चट्टानी भीरमा सेनाले विष्फोट र मेशिनबाट सफा गर्ने कार्य गर्न थालेपछि सडक निर्माण कार्य तीव्र हुन गएको हो ।
कामदारहरूले विष्फोटका लागि होल खोप्ने कार्य अन्तिम चरणमा पुर्याएका छन् । निर्माचणको काम अन्तिम चरणमा पुगेसँगै नेपाली सेनाले कामदारको संख्यामा पनि घटाएको छ । कम कामदारले पनि समयमै कार्यसम्पन्न हुने देखिएपछि सेनाले कामदारको संख्या कम गरेको हो । त्यहाँ हाल पच्चीस जनाले काम गरिरहेका छन् । दुल्ली कुनादखि लालीबगरसम्मको असजिलो सडकमा २०७८ साल चैत महिनाबाट सरकारले नेपाली सेनालाई काम गर्न दिने निर्णय गरे अनुसार काम सुरु भएको थियो ।
सो खण्ड हेर्ने नेपाली सेनाको विकास निर्माण दलका योजना प्रमुख अम्रित पराजुलीले छारे भीरमा सडक निर्माण कार्यको प्रारम्भिक ट्राक खुलाउने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले निकै असजिलो भीर खण्डको दुई सय मिटर चट्टानमा विष्फोट गरेर मेशिनले विष्फोट भएको ढुंगा पन्छाउने र सफा गर्न मेशिन पुगेपछि काम अन्तिम चरणमा पुगेको बताए ।
अब सडकको ग्रेड मिलाउने, ग्याविन लगाउने र सडक चौढा बनाउने कार्यमा हुनेछ । उनले निर्धारित मिति मै सडकको निर्माण कार्य सम्पन्न गर्ने लक्षका साथ सेनाले काम गरि रहेको र कुनै प्राविधिक समस्या नआए तोकिएकै मितिका गाडी गुडाउन सेना सफल हुने बताए । पछिल्लो पटक सेनाले पाएको जिम्माको काम दुल्ली कुनादेखि लालीबगरसम्मको एघार किलो मिटर सडकको अन्य भागमा भने यसअघि नै सडक निर्माण कार्य गरिसकेको थियो । असार मसान्तसम्म सो खण्डको सडकको निर्माण कार्य सम्पन्न गरेर सेनाले हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गर्ने भएको छ ।