हुम्ला । हुम्ला जिल्लामा खास पाउँनु पर्ने कृषकले नपाएर झोले कृषकले पाउँने गरेको लामो समयदेखि कृषि क्षेत्रमा लागेका कृषकहरुले बताएका छन् । भदौ १५ गते सिमकोट गाउँपालिका हुम्लाको आयोजना तथा ग्रेप परियोजनाको प्रायोजकमा सञ्चालन भएको कार्यक्रममा सहभागि कृषकहरुले यस्तो कुरा बताएका हुन् ।
लामो समयदेखि कृषि क्षेत्रमा काम गर्दै आएका सिमकोट–३ लाङ्दु गाउँका कृषक गोविन्द लामाले जिल्लामा तीन किसिमका कृषकहरु छन् । जसमा रियल, विचौलिय र झोले कृषकहरु छन् । तर अन्तमा अनुदानका कार्यक्रम झोले कृषकहरुले पाउँने गरेको लामाको भनाई छ । उनले कार्यक्रममा बोल्दै हिमाली क्षेत्रमा हावापानीसँग मेल खाने नयाँ बिउबिजनको व्यवस्था गरे उत्तम हुने बताए ।
शनिबार आयोजना गरिएको हुम्लामा वातावरणमैत्री कृषि उत्पादन र बजारीकरणको अवस्था, चुनौती र सम्भावनासम्बन्धी बहस कार्यक्रममा विभिन्न माग राखेका छन् । उनले कृषि क्षेत्रमा गरेको कामको अनुभव बारे बोल्दै अहिले जिल्लामा भित्रिने बीउ बिजन हिमाली हावापानी सुहाउँदो हुनुपर्ने सुझाव दिए ।
उनले जथाभावी बिउ जिल्लामा भित्रिँदा उत्पादन नै नहुने समस्या पटक पटक भोगेको बताउँदै विज्ञसँगको समन्वय र सुझावका आधारमा मात्र बिउ भित्र्याउन उनले कृषि क्षेत्रमा काम गर्ने सरकारवाला पक्षलाई आग्रह गरे । अर्का एग्रोभेट सञ्चालक रामजन रावतले जिल्लामा ल्याउने बीउ एग्रोभेट भन्दा पनि कम्पनीबाटै खरिद गरेर ल्याउने ब्यवस्थाका लागि माग गरे ।
उनले किसानबाट जहाँ पायो त्यहीको बीउ खरिद गरेर ल्याउनले फल नलाग्ने समस्या आएको गुनासो आइरहेको हुँदा गाउँपालिकाले यसमा नीतिगत निर्णय गरेर राम्रो बीउ ल्याउने ब्यवस्थाका लागि माग गरे । बजारीकरणको ब्यवस्थाका लागि पहल कृषि क्षेत्रमा काम गर्ने निकायले गर्नु पर्ने आवश्यकता औँल्याए ।
अर्का तरकारी उत्पादक किसान मुकुन्द रोकायाले हुम्लामा उत्पादन हुने स्थानीय बाली र फलफुलहरु अर्गानिक भएको प्रमाणिकरण गर्न आवश्यक रहेको बताए । उनले सेवा र सुविधा पनि बास्तविक किसानले पाउने गरी सरोकारवाला पक्षले निर्देशिका तयार गर्नुपर्ने बताए । कार्यक्रममा सिमकोट गाउँपालिका अध्यक्ष बिजय भण्डारीले किसानले काम नगरेको भए गाउँपालिकाको नामा बाहिर चर्चा पाए जस्तो नहुने भएको कारण काम गर्ने किसानलाई सहयोग गर्न कुनै बाधा नहुने बताए ।
अध्यक्ष भण्डारीले स्थानीय बालीको उत्पादनमा जोड दिने र अव गाउँपालिकाको कृषि योजना निर्माणका क्रममा रहेको बताए । स्थानीय बालीको उत्पादन काठमाडौंसम्म पुर्याउन गाउँपालिका सफल भएको र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडबाट स्थानीय बालीको प्रर्बद्धन गर्नका लागि बजेट भित्र्याउने कार्य सफल भएको उनले बताए ।
उपाध्यक्ष शुशिला रोकाया भामले नयाँ बाली उत्पादन हुन थाल्नु जलवायु परिवर्तनले पारेको सकरात्मक असर रहेको बताउदै त्यसैअनुसार किसानलाई अनुकुलनका कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले लाग्ने बताईन । ग्रेप परियोजना अन्र्तगत एन्साप नेपालले कार्यक्रमका लागि प्रायोजना र गाउँपालिकाको आयोजनामा कार्यक्रम गरिएको हो । कायक्रममा सिमकोट गाउँपालिकाको प्रशासकीय अधिकृत उजिर रोकाया र सञ्चारकर्मीहरुले आफ्नो धारणा राखेका थिए ।