हुम्ला । दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–५ स्थित बारी गाउँकी पूर्व गाउँपालिका उपाध्यक्ष सौमती रावल (ऐडी)लाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
पूर्वउपाध्यक्ष ऐडी सुत्केरी हुने समय नपुग्दै ६ महिनाको बच्चा जन्माउँदा साल अड्कीएपछि बेहोस हुँदा साउन १६ गते साँझ ६ बजे सुर्खेत उद्धार गरिएको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरीता बोहराले जानकारी दिइन ।
ऐडीले साउन १५ गते बच्चा जन्माएर साेहिदिन रातीदेखि रगत धेरै बगीरहेको र साल अड्किएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत हेलिकोप्टर माग गरि उद्धार गरिएको सिनीयर अनमी बोहराले बताइन् ।
गाउँमै रहेको बारी गाउँ स्वास्थ्यचौकीमा उपचार गर्दा पनि उपचार सम्भव नभएपछि स्वास्थ्य सेवा कार्यालय, जिल्ला प्रशासन कार्यालय हुम्लाको पहलमा उद्धार गरिएको हो । ऐडीको पेटमै साल अड्किएपछि बेहोस हुँदा स्वास्थ्यचौकीले रातभर सलामी लगाएर बुधबार उद्धार गरिएको हो । ऐडीले चारपटक गर्भजाँच समेत गराएकी थिइन । ऐडीले मरेको बच्चा जन्माएकाे अनमी बोहराकाे भनाइ छ ।