हुम्ला । सिमकोट र नाम्खा गाउँपालिका विच भागमा पर्ने हेप्का खोलको काठेपुल बगाएपछि कर्णाली करिडोर अन्तरगतको सडक अवरुद्ध भएको छ । गत असार १८ गतेदेखि परेको अविरल वर्षाका कारण हेप्का खोलाको काठेपुल बगाएपछि यातयातका साधनलाई आवतजावतमा कठिनाई भएको हो ।
काठेपुल बगाएको करीव दुई हप्ता भएको छ । उक्त काठेपुल तत्काल मर्मतका लागि हिल्सा सिमकोट सडक योजनाको आर्थिक लगानीमा काठेपुल मर्मत गर्ने कार्य सञ्चालन गरिएको छ । पुल निर्माण गर्दै गर्दा हाल नाम्खा र सिमकोट गाउँपालिका वडा नम्वर ७ बाट सञ्चालन हुने गाडीहरू यतिखेर हेप्का खोलासम्म पुगेर फिर्ता हुने गरेका छन् भने सदरमुकाम सिमकोटबाट गएका गाडीहरु पनि हेप्का खोलामा पुगेर सदरमुकाम सिमकोट तर्फ फर्कन बाध्य छन् ।
उक्त काठेपुल निर्माणमा हिल्सा सिमकोट सडक योजना कार्यालले काम सुचारु गरेको छ । सिमकोट हिल्सा सडक खण्ड अन्तरगतको उक्त हेप्का खोलामा लगाएको पुल बगाएपछि स्थानीय यात्रुले पनि सास्थी खेप्नु परेको छ । खोलामा मानिसहरू हिड्ने झोलुङ्गे पुल छ । तर त्यो पुल समेत उच्च जोखिममा रहेको छ ।
त्यस्तै सोही खोलामा गाडी गुड्ने पक्की पुल भने सात वर्षदेखि अन्यौलमा छ । जुन पक्की पुल निर्माणको जिम्मा सपना धुलीखेल जेभिले लिएको थियो । हाल काठको निर्माण गर्नु पर्ने पुलको जिम्मा पनि सोही जेभिलाई दिइएको छ । उक्त काठे पुलको निर्माण कार्य भने धमाधम चलि रहेको छ ।
अस्थायी रुपमा गाडी गुड्ने काठेपुलको अवस्था बुझ्नका लागि साउन ३ गते जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माको नेतृत्व टोलि स्थलगत अनुगमनमा पुगेको थियो । उक्त टोलिले काठे पुलको निर्माण कार्य साउन १० गतेसम्म सम्पन्न गरि सक्नु पर्ने निर्देशन दिएको छ ।
अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल, प्रहरी नायव उपरिक्षक रविन्द्र खनाल, नेकपा एमाले जिल्ला कमिटिका उपाध्यक्ष प्रकास बहादुर शाही, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका उपसभापति कैलाश भण्डारी, हिल्सा सिमकोट सडक योजनाका इन्जिनियर ओमप्रकास तोहार, पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावत र सचिव नन्द सिंहको सहभागिता रहेको थियो ।