हुम्ला । हुम्ला जिल्लामा पहिलो पटक नेपाल पब्लिक क्याम्पस संघ जिल्ला कार्यसमिति, गठन भएको छ । असार २२ गते मानसरोवर बहुमुखी क्याम्पस र हिमज्योति बहुमुखी क्यम्पसको आयोजनामा उक्त जिल्ला कार्य समिति गठन भएको हो । उद्घाटन सत्रसंगै सोही दिन कार्यसमितिको नामवली समेत घोषणा गरिएको छ ।
जिल्लामा रहेका तीन वटा बहुमुखी क्यामपस मध्ये अदानचुलीमा रहेको गाल्वा बहुमुखी क्याम्पस निस्कृया रहेकोले हिमज्योति बहुमुखी क्याम्पस सर्केगाड र मानसरोवर बहुमुखी क्याम्पसको संयुक्त रुपमा कार्यसमिति गठन गरिएको हिमज्योति बहुमुखी क्याम्पस प्रमुख नेत्रलाल हमालले जानकारी दिए ।
उद्घाटनसत्रमा स्वागत मन्तव्य राख्दै प्रमुख हमालले केन्द्रिय स्तरमा २०४७ साल, प्रदेश स्तरमा २०८० साल र हुम्ला जिल्लामा यो पहिलो पटक शाखा स्थापना गरिएको बताए । उनले सामुदायिक क्यामपसको हक हित हुने र वृद्धि विकासका लागि यसको महत्व रहेको बताए । केन्द्रले १२ औँ अधिवेशान सम्पन्न गरी सकेको भए पनि जिल्लामा यो पहिलो अधिवेशन सञ्चालन गरिएको बताइएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख हमालले पिहलो पटक शाखा स्थापना संगै कार्यसमित गठन गरिएकाले सबैको सुझाव, सल्लाह र सहकार्यको आवश्यकता रहेको आग्रह गरे । शुभकामना मन्तव्य दिदै सामाजिक विकास कार्यालयका प्रमुख हर्कबहादुर बस्नेतले क्याम्पस स्तरको उच्च शिक्षालाई गुणस्तरीय शिक्षा बनाउनका लागि नवनिर्वाचित पदाधिकारीहरूको महत्व भूमिका रहेको उल्लेख गरेका थिए ।
त्यस्तै संस्थागत भन्दा पनि व्यक्तिमा भर पर्ने भएकोले यो कार्य समितिले क्याम्पस स्तरमा अबको शिक्षा क्षेत्रलाई कसरी लिने भन्नेमा जागरुक हुनु पर्ने पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावतले सुझाव दिएका थिए । उनले थपे भौगालिक हिसावले हुम्ला जिल्लाको पठनपाठन गुणस्तरीय नहुने देखिएपछि यहाँका विद्यार्थीहरु जिल्ला बाहिर अध्यायनका लागि जाने प्रक्रिया रोक्नका लागि र क्याम्पसमा पठनपाठनलाई नियमितता दिनका लागि उक्त कार्यसमितिले ध्यान दिनु पर्ने भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले क्याम्पसको भविष्य निर्वाणका लागि हाल सर्वसहमति रुपमा गठन भएको समितिले जोड दिनुको साथै गुणस्तरीय शिक्षाको जगेर्ना गर्नु पर्ने भनाई राखेका थिए । यो पहिलो सुरुवातिले निकै हौसला बढेको जानकारी दिंदै मानसरोवर बहुमुखी क्याम्पस प्रमुख दिपक भण्डारीले आगामी दिनमा क्याम्पसलाई थप प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदानका लागि सदैव तयार रहने प्रतिवद्धता जाहेर गरेका थिए ।
अध्यक्षमा हमाल चयन
नेपाल पब्लिक क्याम्पस संघ जिल्ला कार्यसमिति, हुम्लाको अध्यक्षमा सर्वसहमति रुपमा हिमज्योति बहुमुखी क्याम्पसका प्रमुख नेत्रलाल हमाल चयन भएका छन् । संघको विधान अनुसार १५ सदस्यीय हुनु पर्ने भए पनि हुम्लामा पहिलो अधिवेशन भएकाले सात सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ ।
अधिवेशन कार्यक्रमको उद्घाटन सत्रपछि कार्यक्रमका अध्यक्ष दिपक भण्डारीले पदाधिकारीहरुको नामावली घोषणा गरेका थिए । जसमा अध्यक्षमा हमाल, उपाध्यक्षमा विरजङ्ग शाही, सचिवमा शिवशर्मा पाैडेल, सहसचिवमा श्रीबहादुर शाही, कोषाध्क्षमा मधु बस्नेत शाही लगायत राज बहादुर शाही र धनलाल विक सदस्य रहने गरी उक्त कार्य समिति गठन भएको हो ।