हुम्ला । देशको एक मात्रै राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेको जिल्ला हुम्ला हो । देशका ७६ जिल्लामा सडक सञ्जाल पुगिसकेको छ । तर हुम्ला जिल्ला हालसम्म सडक सञ्जालको पहुँचमा जोडिएको छैन । २०५७ सालबाट सुरु भएको कर्णाली करिडोर सडक २०८० सालसम्म आइपुग्दा पनि सडक सञ्जालसँग हुम्ला जोडिन सकेको छैन ।
देशका अन्य जिल्लामा गाडीबाट दैनिक उपभोग्य वस्तुको ढुवानी हुने गर्छ । तर, कर्णाली करिडोर खण्डमा दैनिक हजारौं खच्चरले मात्रै सामानको ढुवानी धानेका छन् । खच्चरले नै हुम्ली नागरिकलाई सहजता बनाएको छ । दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्री खच्चरबाट नै ढुवानी हुँदै आएको छ ।
तीन वर्ष पहिले जुम्लादेखि खच्चर ल्याएर हुम्ला पुगेका जुम्लाका २२ वर्षीय युवा सिंह रावलले खच्चरबाट दैनिक सामान ढुवानी गर्दै आएका छन् । रातदिन खच्चरकै पछि दौडने र हुम्लाका गाउँगाउँमा हिँडेर सामान पु¥याउनु उनको दैनिकी हो । मुगु हुम्ला जोड्ने लिंक रोड निर्माण नहुँदा मुगु जिल्लाको गमगडीदेखि हुम्ला जिल्लाको सदरमुकाम सिमकोटसम्म खच्चरबाट दैनिक उपभोग्य वस्तु ढुवानी गर्दै आएको सिंह रावलको अनुभव छ ।
पछिल्ला समय मुगु हुम्ला जोडने लिंक रोड निर्माणपछि सल्लीसल्लादेखि सिमकोट र हुम्लाका दुर्गम गाउँसम्म दैनिक उपभोग्य वस्तु विकास निर्माण सामान ढुवानी गर्ने गरेको सिह रावलले बताए । ‘कहिले खच्चर थाक्छन त कहिले म आफैँ थाक्छु, तै पनि मेरो यात्रा रोकिएको छैन । खच्चरबाट सामान ढुवानी गर्दा महिनामा औसत एक लाखसम्म कमाइ हुन्छु उनले भने, दुख पनि उस्तै हुन्छ खाना बस्न र सुत्नको कुनै ठेगान हुँदैन ।’
कर्णालीको हुम्ला, जुम्ला र मुगुका बेरोजगार युवा पुस्ता खच्चर व्यवसायमा लागेका छन् । कर्णालीका अधिकांश बेरोजगार युवापुस्ता दैनिक खच्चरसँगै दिन बिताउँदै आएका छन् । मुगु–हुम्ला र बाजुरा–हुम्लाका सडकमा दैनिक सयौँको संख्यामा खच्चरले सामान ढुवानी गर्दै आएका छन् ।
जुम्ला जिल्ला पातारासी गाउँपालिका–७ पटमाराका दिनेश बुढा उमेरले बल्ल १७ वर्ष पुगे । उनी दिनरात खच्चरकै पछि दौडेर समय बिताउँछन् । कुनै समय बाटो हिँड्नसमेत गाह्रो गर्छ ज्यानको नै जोखिम हुन्छु बुढाले भने, ‘कहिले खच्चर बिरामी हुन्छन् त कहिले आफैं बिरामी हुन्छु ।’
गाउँमा रोजगारीको कुनै स्रोत नभएपछि दुई वर्षदेखि मुगुको गमगढीदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म दैनिक उपभोग्य वस्तुको खच्चरबाटै ढुवानी गर्दै आएको र हाल सल्लीसल्ला सर्केगार्ड हुँदै सदरमुकाम सिमकोट र दुर्गम गाउँमा सामान ढुवानी गर्ने गरेको उनले बताए ।
घरमा परिवारको संख्या ठूलो भएको र गाउँमा कमाइ केही नहुने भएकाले खच्चरबाट सामान ढुवानी गर्ने कामदारको रूपमा हुम्ला पुगेको बुढाको भनाइ छ ।
उनले भने, ‘महिनामा खच्चर मालिकले १५ हजार रुपैयाँ दिन्छन्, त्यही पैसाले आफ्नो खर्च र परिवारको खर्च चलाउँदै आएको छु ।’ जुम्ला पातारासी गाउँपालिका–७ कै वीरेन्द्र थापाले खच्चर व्यवसाय गरेको आठ वर्ष भयो । सुरुमा सडक सञ्जालसँग नजोडिएको कर्णालीका कालिकोट, जुम्ला, मुगुसम्म दैनिक खच्चरबाटै सामान ढुवानी गर्दै आएका उनले यस व्यवसायबाट राम्रै आम्दानी गरेका थिए ।
तर, अहिले तीन जिल्लामा मोटरबाटो पुगेपछि खच्चर व्यवसाय विस्थापित भएको उनले बताए । कालिकोट, मुगु र जुम्लामा सडक पुगेपछि सामान गाडीबाट ढुवानी हुन थालेको छ । जसले गर्दा यो व्यवसाय संकटमा पर्ने खतरा छु उनले भने, ‘अहिले हुम्ला जिल्लातर्फ खच्चरबाट सामान ढुवानी गर्न थालेको छु ।
खच्चरबाटै मासिक ७० देखि ८० हजार रुपैयाँ आम्दानी हुँदै आएको छ । हुम्ला पनि सडक सञ्जालमा जोडिएपछि खच्चर व्यवसाय संकटमा पर्नेछ ।’ हाल कर्णाली करिडोर अन्तरगत कालिकोट जिल्लाको खुलालुदेखि हुम्लाको चंखेली गाउँपालिका र सर्केगाड गाउँपालिका सीमानासम्म १ सय २३ किलोमिटर ट्याक खुलेसँगै नेपालगञ्ज सुर्खेत सवारीसाधन आउजाउ गर्दै आएका छन ् ।
सर्केगाड गाउँपालिकादेखि सिमकोटसम्मको ६५ किलोमिटर दुरी पर्ने ल्याप्चे, छोरे सुनाखाडा लालीबगर खण्डमा नेपाली सेनाले ट्याक खोलेपनि हाल औपचारिक रुपमा सडकलाई हस्तान्तरण नगरेपछि सवारी चलेका छैन । सर्केगाड गाउँपालिका र चंखेली गाउँपालिकाबाट हुम्लाको सदरमुकाम सिमकोट खच्चरबाट दैनिक उपभोग्य वस्तु नुन, तेल, चामल, सिमेन्ट, डिजेल, पेट्रोलदेखि विकास निर्माणका आवश्यक सामान दैनिक रूपमा खच्चरबाट नै हुम्ला पुग्ने गरेको छ ।
यति मात्र नभई निजी घर निर्माणका लागि आवश्यक पर्ने जस्तापाता समेत खच्चरबाट नै ढुवानी हुने गरेको खच्चर व्यवसायी बताउँछन् ।
सडकको पहुँच नपुगेको हुम्लामा करिव ८ सयको संख्यामा खच्चर रहेको अनुमान छ । अहिले खच्चरबाट सामान ढुवानी गर्ने व्यवसायीको संख्या पनि धेरै भएकाले सस्तो मूल्यमा सामान ढुवानी गर्नुपर्ने बाध्यता रहेको व्यवसायीको गुनासो छ ।