हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्वर २ स्थित रिपको नमुना वडा कार्यालय भवनबाट सेवा प्रवाह भएको छ । गत तीन वर्षदेखि नियमित रुपमा निर्माणधिन रहेको २ नम्वर वडा कार्यालयको भवनको निर्माण कार्य सम्पन्न पछि हाल सेवाग्राहीलाई आफ्नै नमुना वडा कार्यालयबाट सेवा प्रवाह भएको हो ।
तीन वर्षदेखि निर्माण कार्य सुरु भएको उक्त वडा कार्यालयको भवन गत ०८० साउनमा निर्माण कार्य सम्पन्न भए पनि कात्तिकदेखि वडाले आफ्नो भवनबाट सेवा सुचारु गरेको वडा नम्वर २ रिपका वडाअध्यक्ष सिद्ध कार्कीले बताएका छन् । उनका अनुसार श्रमदान सहित ५१ लाख रुपियाँमा निर्माण गरिएको उक्त वडा कार्यालय भूकम्प प्रतिरोधी रहेको छ ।
हुम्लाका ४४ वटै वडाका आ आफ्नै वडा भवन नभए पनि केही वडाका भने भवन निर्माण कार्य सम्पन्न भएका छन् । तर ति मध्य पनि बनावटका हिसावले जिल्लाकै नमुना भवनका रुपमा रिपको ६ कोठे २ तले भवनलाई भिन्न सकिन्छ । यस अघि उक्त वडा कार्यालयले गाउँका स्थानीयको घर भाडामा लिएर सेवा साँगुरो अवस्थामा सेवा प्रवाह गर्दै आएको अध्यक्ष कार्कीको भनाई छ ।
भाडामा लिएको वेला सेवाग्राहीलाई सेवा दिन निकै साँगुरोपनमा सेवा दिनु पर्ने भए पनि अवदेखि आफ्नै भवन भएकाले उक्त समस्या टरेको अध्यक्ष कार्कीले जानकारी दिए । उक्त भूकम्प प्रतिरोधी भवन निर्माणका लागि १५ लाख वडा कार्यालयको, १५ लाख रुपियाँ सर्केगाड गाउँपालिकाको र १५ लाख रुपियाँ प्रदेश संसद जुम्किीत लामाको पहलमा प्रदेश सरकारले सहयोग गरेको थियो ।
निर्माण कार्य सम्पन्न भएको उक्त भवनलाई सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको नेतृत्वमा गाउँपालिकाको प्राविधिक टोली र पत्रकारहरूले अनुगमन गरेका छन् । अनुगमनका क्रममा सहजै रुपमा सेवा दिएको देखिएको छ । वडाबाट हुने सम्पुर्ण सेवा हाल सहजै रुपमा उपलव्ध गराउँदा स्थानीय हर्षित भएको सोही वडाका स्थानीय जय बहादुर कार्कीले बताए ।
त्यस्तै वडा कार्यालयको भवन जोखिम मूक्त गर्नका लागि सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष ०८०।०८१ को विनियोजित बजेट मार्फत मुख्य मन्त्री रोजगार कार्यक्रमको ३ लाख ३४ हजार र १ लाख रुपियाँ वडाले छुट्याएको रकमबाट ग्याविनको समेत व्यवस्था गरेको छ । उक्त ग्याविन निर्माण कार्य पनि सम्पन्न भई सकेको छ ।