

हुम्ला । नेपाल पत्रकार महासंघ हुम्ला शाखाको बैठक धार्मिक तथा पर्यटकीय क्षेत्र रलिङमा सञ्चालन भएको छ । जिल्लाका पर्यटकीय क्षेत्रको प्रचार प्रसार र प्रर्बद्धन गर्नका लागि महासंघले पहिलो पटक पर्यटकीय स्थलमा आयोजना गरेको हो ।
२०८१ मङ्सीर २८ गतेपछि निर्वाचित भएको नेपाल पत्रकार महासंघ हुम्ला शाखाको नयाँ कार्य समितिको तेस्रो बैठक सिमकोट गाउँपालिका– २ को रलिङ गुम्बामा आयोजना गरिएको महासंघ हुम्ला शाखाका सचिव नन्द सिंहले बताए । प्रचार प्रसारको अभावले उक्त क्षेत्र धार्मिक, एतिहाँसिक र पर्यटकीय क्षेत्र भएर पनि बाहिर आउन नसकेको कारण महासंघ हुम्ला शाखाको बैठक रलिङ गुम्बामा आयोजना गरिएको होे ।
सो क्षेत्रमा रहेको मिनि कैलाशबाट कैलाश पर्बत समेत देखिन्छ । भने रलिङ गुम्बा बि.स. १२१३ को ताम्रपत्र समेत रहेको छ । रलिङ क्षेत्रमा रहेका सवै पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरेर आन्तरिक तथा बाह्रिय पर्यटकहरुलाई आर्कषित गर्नका लागि पनि बैठक आयोजना गरिएको उहाँले बताउनुभयो ।
महासंघका पुर्व अध्यक्ष अर्जुन बोहराले महासंघले नियमित बैठक रलिङमा आयोजना गरेर निक्कै महत्वपुर्ण कार्य गरेको बताउनुभयाे । जिल्लामा यस्ता धार्मिक, ऐतिहाँसिक र पर्यटकीय स्थलहरु धेरै रहेको र ती स्थानहरुको यसरी नै प्रचार प्रसार गर्नु आवश्यक रहेको उहाँको भनाई छ ।
महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतको अध्यक्षतामा वसेको बैठकले रलिङ लगायत जिल्लाका पर्यटकीय तथा धार्मिक स्थल लिमी लाप्चा, खार्पुनाथ शिवालय, रानी सैना, सैपाल, चाङ्ला, चङ्खेली पञ्चमुखी हिमालको बारेमा प्रचार प्रसार र पर्यटकीय पुर्वाधार निर्माणका लागि समन्वय, सहजिकरण गर्ने निर्णय समेत गरेको छ । शनिबार रलिङ क्षेत्रमा हिमपात समेत भएको कारण जमिन सेताम्मे देखिएको थियो भने बैठकका सहभागी सञ्चारकर्मीहरु हिउमा रमाईलो मनाउन पाउनु भएको थियो ।
बैठकले महासंघ हुम्ला शाखाको प्रबक्तामा महासंघ सचिव नन्द सिंहलाई तोकेकाे छ । त्यसैगरि महासंघका आबद्ध सदस्यहरुको क्षेमता बिकास गर्न तालिम आयोजना गर्नका लागि जिल्लाका सातवटै गाउँपालिकामा आवश्यक प्रस्तावना निर्माण गरेर पेश गर्न अध्यक्ष रावतको संयोजकत्वमा तीन सदस्यीय उपसमिति पनि गठन गरेको छ । त्यसैगरि महासंघले यस्ता बैठक आगामी दिन जिल्लाका अन्य पर्यटकीय तथा धार्मिक स्थलमा सञ्चालन गर्ने छ ।