

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ मा रहेको लाली बगर र वडा नम्वर ५ मा रहेको याङ्चु बगरको पक्की पुल निर्माण कार्य हुन सकेको छैन । सम्झौता भएको साँढे दुई वर्ष बिति सक्दा पनि कर्णाली नदी माथिका दुईवटा पक्की पुलको निर्माण कार्य सुरु हुन नसकेको हो । पुर्वाधार बिकास कार्यालय हुम्लाले बहुवर्षीय योजनाका रुपमा निर्माण कार्य सम्पन्न गर्न चार वर्षे अवधि राखेको भए पनि सम्झौता गरेको साढे दुई वर्ष विति सक्यो तर त्यसको काम कार्य अघि बढ्न नसकेको बताइएको छ ।
खार्पुनाथ गाउँपालिकाको याङ्चु बगर र लाली बगरमा रहेको कर्णाली नदी माथिको पक्की पुल निर्माण गर्नका लागि पुर्बाधार बिकास कार्यालय हुम्लाले सुर्या एजएम शृया जेभीसंग निर्माण कम्पनीसंग साँढे दुई वर्ष अगाडी नै सम्झौता गरेकाे थियाे । उक्त पुल निर्माण कार्य हुन नसकेपछि हाल खार्पुनाथ गाउँपालिका–१,२,३,४ र ५ का स्थानीयलाई समस्या भएको छ । स्थानीय मानबहादुर परियारका अनुसार लाली बगरमा पुल निर्माण नभएका कारण दैनिक दिन एक गाउँबाट अर्को गाउँ, पालिका केन्द्र र सदरमुकाम सिमकोट पुग्नलाई कठिनाई भएको गुनासो गरेका छन् ।
उनका अनुसार विद्यालयमा जाने विद्यार्थीले समेत सास्ती खेप्नु परेको छ । पुर्वधार विकास कार्यालय र निर्माण कम्पनीको चरम लापरवाहीका कारण पुल निर्माण कार्यमा ढिलाई हुनुका साथै छोटो दुरिमा रहेको बाटो हाल घण्टौँ लगाएर सम्वन्धित ठाउँमा पुग्नु पर्ने बाध्यता रहेको स्थानीयले गुनासो गरेका छन् । उक्त स्थामा पुल नबनेकै कारण यतिवेला मानिस तथा पशुबस्तुलाई समेत वारपार गर्न मुस्कील भएको छ । राया, थाली, सेरडिल र कारङ्ग लगायतका गाउँबस्तीका मानिसहरूले ज्यान जोखिम मोल्दै तुइनको भरमा वारपार गर्नु पर्ने बाध्यता रहेको स्थानीय हस्त बहादुर शाहीले गुनासो गरेका छन् ।
नेपाल सरकारले यस अघि नै तुइन विस्थापित गर्ने नीति अनुरुप तुइन विस्थापित गरिएका व्यक्तिहरूको पुनस्थापनाका लागि विभिन्न योजना र कार्यक्रमहरू प्रस्तावित गरिएको थियो । जसले प्रभावित समुदायलाई सहयोग पुर्याउने उदेश्य राखेको भए पनि उक्त नीति खासै प्रभावकारी हुन सकेन । पुल निर्माणका लागि पटक पटक निर्माण कम्पनीलाई ताकेता गर्दा पनि कुनै सुनुवाई हुन नसकेको पुर्वधार विकास कार्यालयको भनाई छ । पुल निर्माणका लागि सम्झौता पत्रमा चार वर्षे अवधि राखेका कारण पुल निर्माण हुन नसकेको पाइएको छ ।
दुवै पुल निर्माणका लागि ०७९ साल जेठ २७ गते सम्झौता भएर ०८४ साल जेठ ११ गते सम्पन्न गर्ने मिति राखिएको छ । पुल निर्माणका लागि लामो अवधि राख्न नहुने हो तर उक्त कार्यालयले निकै लामो समयको अवधि राखेकोले समस्या देखिएको हो । जसमा याङ्चु बगरको पक्की पुल निर्माणका लागि १७ करोड लागत लाग्ने गरि बजेटको ब्यवस्था गरिएको छ भने लालि बगरका लागि १४ करोड रुपियाँ लागत लाग्ने गरि सम्झौता गरिएको छ ।
यी दुवै पुल निर्माणका लागि कर्णाली प्रदेश सरकारको भौतिक पुर्वाधार बिकास मन्त्रालयले २०७७ साल मङ्सीर ८ गते बहुवर्षीय योजनाका रुपमा स्वीकृत दिदै बजेटको सुनिश्चितता गरेको थियो । यसअघि सडक सञ्जान नजोडिएका कारण निर्माण सामाग्री ढुवानीमा समस्या भएको थियो । तर कर्णाली करिडोर खार्पुनाथ गाउँपालिकासम्म जोडिएको देखिदा पनि निर्माण कम्पनीले बहानाबाजी गरेको पाइएको छ ।